काठमाडौ – सूर्यदर्शन बचत तथा क्रण सहकारी संस्था ठगी आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गुल्मी मुसीकोट नगरपालिका– ४ घर भई हाल ललितपुर महानगरपालिका– १५ खुमलटार बस्ने वर्षीया ३२ लीला पछाई रहेको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए ।
सहकारीको सेयर, बचत तथा जगेडालगायत विभिन्न कोषमा हुनुपर्ने रकम सहकारी ऐन, नियमावली र संस्थाको विधानविपरीत हिनामिना एवं अपचलन गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पछाईले सहकारीबाट गैरकानुनी रूपमा गितेन्द्रबाबु राई (जिबी)सँग मिलेमतो गरी सहकारीको तीन करोडभन्दा बढी रकम आफ्नो बैंक खातामा लगी चलअचल सम्पत्ति खरिद गर्ने र सेयर कारोबारमा लगानी गरेको भेटिएको प्रमुख ओलियाले बताए । उनलाई सोमबार कास्की जिल्ला अदालतबाट मंगलबार चार दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।
यसअघि सहकारीमा भएको ठगीका सम्बन्धमा पोखरा महानगरपालिकाबाट आवश्यक कारबाहीका लागि ३ साउन ०८० मा पत्र प्राप्त भएपछि आवश्यक अध्ययन गरी प्रहरीले २२ साउनमा मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्तासँगै प्रहरीले ३२ साउनमा एक सूचना जारी गर्दै १५ भदौसम्मको समय दिएर बचतकर्तासँग उजुरी माग गरेको थियो । ठगी प्रकरण अध्ययनका लागि पोखरा महानगरपालिकाले १० भदौमा विज्ञसहितको टोलीसमेत गठन गरेको थियो । टोलीले एक अर्ब ३५ करोड ५३ लाख हिनामिना भएको प्रतिवेदन तयार गरेको थियो । सहकारीबाट ठगिएकाबाट प्रहरीले गरेको उजुरी मागपछि एक हजार ३६ बचतकर्ताको जाहेरी परेको थियो ।