चितवन – यात्रुको चाप बढेपछि हवाई सेवा प्रदायक कम्पनीले उडान सङ्ख्या थपेका छन् । बुद्ध एअरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार कम्पनीले भद्रपुर र भरतपुरमा समान दुई वटा उडान थप गरेको छ । अहिले विभिन्न गन्तव्यमा दैनिक दुईतर्फी एक सय ५० हाराहारी उडान गरिरहेको बुद्ध एअरले यात्रुको चाप बढेपछि उडान थपेको हो ।
श्री एअरलाइन्सले पनि आजदेखि काठमाण्डौ–भरतपुर–काठमाण्डौ रुटमा उडान सञ्चालन गर्न लागेको कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिनुभयो । कम्पनीले शुरूमा चार्टर्ड र त्यसपछि नियमित उडान गर्ने जनाएको छ ।
यति एअरलाइन्सले पनि यही असोज १५ गतेदेखि काठमाण्डौ–भद्रपुर–काठमाण्डौ र काठमाण्डौ–नेपालगञ्ज–काठमाण्डौमा समान एक उडान थपेको छ । साथै आजदेखि काठमाण्डौ–जनकपुर–काठमाण्डौ गन्तव्यमा एक उडान थपिएको यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो ।
बाढी पहिरोका कारण सडक अवरुद्ध भएपछि हवाई उडानमा यात्रुको चाप बढेको हो ।