भरतपुर चितवन – भरतपुर महानगरपालिका वडा नं–२ ले डिजिटल वडा निर्माणका लागि तथ्याङ्क संकलनको काम गर्न लागेको छ ।
यस वडाले आगामी आइतबारबाट महानगरमै पहिलोपटक डिजिटल वडा प्रोफाइलका लागि तथ्याङ्क संकलनको काम गर्न लागेको वडाध्यक्ष मनोज रानाभाटले बताए । वडाले डिजिसप्ट डेभलपर्स प्रालिको प्राविधिक सहयोगमा ‘डिजिटल वडा प्रोफाइल’ निर्माणका लागि शुक्रबार एकदिने अभिमुखीकरण कार्यक्रम चलाएको थियो ।
‘हरेक काम डिजिटलको माध्यमबाट गर्ने हाम्रो चाहना छ, यही उद्देश्यले पहिला डिजिटलबाट वडाको प्रोफाइल तयार गर्न लागिएको हो’, वडाध्यक्ष रानाभाटले भने, ‘प्रोफाइल तयार पार्न तथ्याङ्क संकलनकर्ता घरघरै जानुहुन्छ, मोबाइलमा एपको प्रयोगबाट हरेक वडावासीको सम्पूर्ण विवरण लिनुहुन्छ ।’ उनका अनुसार तथ्याङ्क संकलनका लागि करिब ५० जना संकलनकर्ताहरु फिल्डमा खटिने छन् ।
‘एक महिनामा हामीले वडाको प्रोफाइल डिजिटलको माध्यमबाट तयार पार्ने लक्ष्य लिएका छौँ, अब प्रत्येक वडावासीको प्रोफाइल वडा कार्यालयमा रहने छ’, वडाध्यक्ष रानाभाटले भने, ‘६० भन्दा बढी प्रश्नको उत्तर संकलनकर्ताले लिनेछन्, घरका सबै सदस्यको विवरण एपबाट भरिने छ, कसको कति आम्दानी ? कुन पेसा व्यवसाय ? कस्तो स्वास्थ्य, उमेर, पढाइ ? यी यस्ता दर्जनौँ प्रश्नको उत्तर संकलनकर्ताले अनलाइनबाटै लिनेछन्, परिवारका हरेक सदस्यको सम्पूर्ण विवरण वडाले तयार पार्नेछ ।’
वडाध्यक्ष मनोज रानाभाटले स्मार्ट वडा निर्माणका लागि वडावासीको डिजिटल प्रोफाइल तयार गर्न लागेको बताए । भरतपुर महानगरमा २ नं वडाले नै पहिलोपटक डिजिटल वडा प्रोफाइल तयार पार्न लागेको हो ।
डिजिसप्ट डेभलपर्स प्रालिका प्रबन्ध निर्देशक बुद्धि डङ्गोलका अनुसार भरतपुर महानगरमा यस वडा डिजिटल वडा प्रोफाइल बनाउने पहिलो वडा बन्नेछ । उनले भने, ‘प्रत्येक वडावासीको विवरण दुरूस्त तत्काल थाहा पाउन, डेटा अपडेट र बजेट विनियोजनका लागि सजिलो बनाउन, सहजै तुरून्तै र प्रभावकारी सेवा प्रदान गर्न, खर्च र समय बचाउनलगायत दर्जनौँ सुविधाका लागि डिजिटल वडा प्रोफाइल निर्माणको आवश्यक पर्छ ।’
यतिमात्रै होइन कसैले गलत काम गरे त्यसको पहिचान गर्न र कानुनी कारबाहीमा ल्याउन पनि सजिलो हुने उनको भनाइ छ । उनी भन्छन्, ‘कति वडावासी विदेश गएका छन्, कति बसाइसराई भए ? कति आए ? यो पनि प्रोफाइलमा समेटिने छ ।’
वडा प्रोफाइलका लागि प्रत्येक टोलबाट दुई जना गणकहरु खटाइने वडा कार्यालयले जनाएको छ । जुन टोलका गणक छन् त्यही टोलको विवरण उनीहरुले लिनेछन्, जसले गर्दा वास्तविक तथ्याङ्क आउने वडाध्यक्ष रानाभाटले बताए । शुक्रबार भएको अभिमुखीकरण कार्यक्रममा वडाध्यक्ष रानाभाटले भने, ‘डिजिटल महानगरको अवधारणालाई अगाडि बढाउन पहिला डिजिटल वडा निर्माण हुनुपर्ने छ ।’
#अभिमुखीकरण कार्यक्रमका सहभागीहरु ।