JIN0TkF.gif
JINuGe4.gif

भदौमा सर्‍यो सीटीईभीटीको प्रवेश परीक्षा

काठमाडौँ — प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शनिबार र आउँदो बुधबारलाई तोकेको प्रवेश परीक्षा दुई सातासम्मका लागि स्थगित गरेको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

चिकित्सा शिक्षा ऐन कार्यान्वयनका विषयमा चिकित्सा शिक्षा आयोग र सीटीईभीटीबीचको विवादले प्रवेश परीक्षा प्रभावित भएको हो । रोकिएको परीक्षा भदौ २ र ६ गतेलाई तय गरिएको सीटीईभीटीले जनाएको छ ।

चिकित्सा शिक्षा ऐनविपरीत सम्बन्धन लिएका ४९ वटा कलेजमा आफ्नै तजबिजमा सिट निर्धारण गरेर एचए, फार्मेसी, ल्याबलगायत डिप्लोमा तहमा सिट निर्धारण गरेर सीटीईभीटीले मेडिकल शिक्षाको भर्ना आह्वान गरेको थियो । लगत्तै आयोगले विद्यार्थी तथा अभिभावकलाई भर्ना नहुन चेतावनी दिएपछि विवाद सतहमा आएको थियो ।

शिक्षामन्त्री अशोककुमार राई र शिक्षा सचिव सुरेश अधिकारीले आयोग र सीटीईभीटीलाई समन्वय गरी अघि बढ्न निर्देशन दिएपछि प्रवेश परीक्षा दुई सातापछि सारिएको हो । प्रवेश परीक्षा सञ्चालनका विषयमा शिक्षा मन्त्रालयमा बुधबार र बिहीबार बसेको बैठकले आपसमा समन्वय गरेर अघि बढ्ने अनौपचारिक सहमति गरेको शिक्षा मन्त्रालयले जनाएको छ ।

बैठकमा उपस्थित सीटीईभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले सीटीईभीटी र आयोगबीच समझदारीमै शैक्षिक कार्यक्रम अघि बढाउने सहमति भएको जनाए । ‘मन्त्रालयले दुवै पक्षलाई राखेर भएको छलफलमा एकआपसमा समन्वय गरेर अघि बढ्ने कुरा भएको छ,’ उनले भने । गतवर्ष अयोगबाट सिट निर्धारण गरिएका १ सय ९७ कलेजमा पनि यसपालि सीटीईभीटीले आफूखुसी भर्ना आह्वान गरेको थियो । नयाँ सम्बन्धन पाएका शिक्षण संस्थाको हकमा पनि छलफल र संवादबाट नै टुंगोमा पुगिने अधिकारीले जनाए ।

मेडिकलतर्फको एचए, फार्मेसी, नर्सिङ, ल्याबलगायतका विषयमा आयोग र सीटीईभीटीबीच विवाद हुँदा इन्जिनिनियरिङ, कृषिलगायत विषयको भर्ना पनि प्रभावित भएको हो । मेडिकलतर्फको प्रवेश परीक्षा सीटीईभीटी र अन्य विषयसम्बन्धी कलेजले नै प्रवेश परीक्षा सञ्चालन गर्ने तयारी गरिएको छ । गतवर्षसम्म सबै विषयको प्रवेश परीक्षा सीटीईभीटीले एकीकृत रूपमा सञ्चालन गर्दै आएको थियो ।

सीटीईभीटीले चिकित्सा शिक्षा ऐनविपरीत मेडिकल शिक्षा पठनपाठन गराउने शिक्षण संस्थालाई सम्बन्धन दिने, सिट निर्धारण र भर्ना आह्वान गरेपछि दुई निकायबीच द्वन्द्व सुरु भएको थियो । ऐनमा चिकित्सा शिक्षाको नियमन आयोगले गर्ने उल्लेख छ । सीटीईभीटीले ऐन मिचेपछि चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले समेत अवैध निर्णय नसच्याए साउन अन्तिम सातादेखि सत्याग्रह थाल्ने चेतावनी दिएका छन् ।

‘चिकित्सा आयोगको सहमतिमा मात्रै सीटीईभीटीले सम्बन्धन, भर्ना, सिट निर्धारण, शुल्कलगायत विषयमा निर्णय लिने कुरा भएको छ,’ बैठकमा सहभागी एक सहसचिवले भने, ‘१५ दिनभित्र समन्वय र सहमति गरी भदौ पहिलो साता सीटीईभीटीको प्रवेश परीक्षा सञ्चालन गर्ने निर्णय भएको छ ।’ परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गरी प्राविधिक कारणले प्रवेश परीक्षा स्थगित गरेर पुनः अर्को मिति तोकिएको जनाएको छ । आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले समन्वयमा नै अघि बढ्ने अनौपचारिक सहमति भएको जनाए । सिट निर्धारण, भर्नालगायत कामका लागि सीटीईभीटीले पत्राचार गरेपछि ती काम प्रक्रियागत रूपमा अघि बढ्ने उनले जनाए । सीटीईभीटीले एसईईपछि पठनपाठन गराउने डिप्लो र प्रि–डिप्लोका मेडिकलतर्फ विद्यार्थीको आकर्षण देखिए पनि प्राविधिक शिक्षामा भर्ना हुने विद्यार्थीको संख्यामा भने कमी देखिन्छ ।

एक दशकमा प्राविधिक शिक्षालयको संख्या तेब्बरले बढे पनि त्यसअनुरूप विद्यार्थी भर्नाको आकर्षण देखिएको छैन । ०७० सम्म ५ सयको हाराहारीमा रहेका प्राविधिक शिक्षालयको संख्या हाल १ हजार ५ सयभन्दा बढी छ । तर सीटीईभीटीबाट सम्बन्धन प्राप्त शिक्षालयमा कोटाअनुसार विद्यार्थी भर्ना छैन । गत वर्ष डिप्लोमा र प्रि–डिप्लोमा तहमा क्षमताको ५७ र ३४ प्रतिशत विद्यार्थी मात्र भर्ना भएका थिए । समग्र सिटअनुसार भर्ना हुने विद्यार्थी ४७.८४ प्रतिशत मात्रै छन् । प्रवेश परीक्षा ढिला हुँदा एसईई उत्तीर्ण विद्यार्थी अन्यत्रै भर्ना हुन सक्ने र अझै विद्यार्थी संख्यामा कमी आउन सक्ने अनुमान गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000