चितवन – सामाजिक सञ्जाल फेसबुकमार्फत अश्लील फोटो तथा भिडिओ सार्वजनिक गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले बुधवार युवकलाई काठमाडौं गोङ्गबुबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका घर भई काठमाडौं बानियाँटार बस्दै आएका २७ वर्षीय किरण थापा रहेका छन् । ब्यूरोका अनुसार युवती र आरोपित युवकको भेट सामाजिक सञ्जाल फेसबुकमा भएको थियो । उनीहरूबीच कुरा हुँदै जाँदा मेसेन्जरबाट गोप्य फोटो तथा भिडिओ साटासाट भएको थियो ।
सम्बन्ध बिग्रिएपछि युवकले ती फोटो तथा भिडिओ युवतीका आफन्त तथा परिवारजनमा पठाइदिए । त्यसरी सामाजिक तथा व्यक्तिगत जीवनमा गम्भीर असर हुने गरी चरित्रहत्या गरेको भन्दै युवतीले ब्यूरोमा उजुरी दिएकी थिइन् ।
त्यसैका आधारमा अनुसन्धान र प्राविधिक विश्लेषणबाट थापा पक्राउ परेकाे ब्यूरोले जनाएको छ । उनीमाथि विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा प्रहरीले मङ्गलबार मुद्दा दर्ता गरेर खोज तलास सुरु गर्यो । तर, उनी फेला परेनन् । प्रहरीले उनलाई फरार प्रतिवादी बनाएर खोजतलास गरेपछि बुधवार पक्राउ परेका हुन् ।