चितवन – चितवनमा नेपाली नागरिकताको प्रमाणपत्रका लागि अनलाइनबाटै सिफारिस गर्ने सेवा आज बुधबारदेखि सुरू हुँदै छ ।
केन्द्रीकृत नागरिकता सूचना प्रणालीमार्फत जिल्लाका सात पालिकाका ९८ वटै वडाबाट अनलाइन सिफारिस सेवा सुरू हुन लागेको हो । रत्ननगर नगरपालिका वडा नं–१० बाट बुधबार अनलाइन सिफारिस सेवाको औपचारिकरुपमा उद्घाटन हुँदै छ । रत्ननगरमा १६ वटा वडा छन् ।
नागरिकताका लागि अनलाइनबाटै सिफारिस गर्ने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय चितवनले वडा, स्थानीय तहहरुलाई अनुरोध गरेको थियो । त्यसका लागि गृह मन्त्रालयले जिल्लाका सबै वडा सचिव र आइटी शाखाका कर्मचारीलाई तालिम प्रदान गरेको थियो । सेवा प्रदान गर्न गृह मन्त्रालयको सूचना प्रविधि शाखाले जिल्लाका सातवटै स्थानीय तहलाई युजर आइडी र पासवर्डसमेत पठाइसकेको छ ।
नागरिकताको प्रमाणपत्रका लागि आवश्यक कागजपत्र लिएर वडा कार्यालयमा पुगेपछि वडाले नै अनलाइन सिफारिस गर्ने छ । उक्त सिफारिस प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयका कर्मचारीले अनलाइनबाटै हेर्न र प्राप्त गर्न सक्छन् । अनलाइन प्रणाली सुरू भएपछि अभिलेखीकरणमा सहजता, सेवा प्रवाहमा छरितो र प्रविधिमैत्री हुने, झूटा र किर्ते विवरण भरेर नागरिकता लिने कार्य अन्त्य हुने जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
‘हामीले स्थानीय तहसँग समन्वय गरिरहेका छौँ । नागरिकताका लागि सेवाग्राहीहरु वडा कार्यालयमा गएपछि फारामहरु त्यहीँ अनलाइनबाट भरिन्छ । आवश्यक कागजपत्रहरु त्यहीँ स्क्यान भएर सिस्टममा अपलोड हुन्छ’, उनले भने । सिस्टममा हालिएको कागजपत्रहरु प्रशासन कार्यालयबाट पनि हेर्न मिल्छ । कागजपत्रहरुको रूजु भएपछि नागरिकता प्रिन्ट गरेर दिइने उनले बताए ।
भरतपुर महानगरपालिकाकी सूचना अधिकारी मेनका पण्डितका अनुसार बुधबार बेलुकासम्म सबै वडाबाट नागरिकता सिफारिसको अनलाइन प्रणाली सुरू गर्ने तयारी छ । बुधबार बिहान १० बजेबाट केही वडामा सुरू हुने र बेलुकासम्म सबै वडामा सेवा सुरू गर्ने तयारी रहेको उनले बताइन् । भरतपुर महनगरमा २९ वटा वडा रहेका छन् । अन्य पालिकाहरुले पनि सेवा सुरू गर्ने तयारीमा जुटेका छन् ।
यो प्रणाली लागू भएसँगै अब नयाँ नागरिकता प्राप्तिका लागि सेवाग्राहीले नागरिकता लिन आवश्यक पर्ने सिफारिसका पत्रहरु बोकेर जिल्ला, इलाका प्रशासनमा बुझाउनुपर्ने झन्झट हट्नेछ । सफ्टवेयर प्रणालीमा प्रविष्ट भएका विवरणहरु गृहअन्तर्गत नागरिकता फाँट विभागमा रजिष्ट्रेसन कोडका आधारमा सहजै नागरिकता पाउन सकिन्छ ।










