JIN0TkF.gif
JINuGe4.gif

गोरखासँग जोडिएका चीनतर्फको सीमा नाका ५ वर्षपछि खुल्ला

गोरखा – गोरखासँग जोडिएको चीनतर्फको दुई वटा सीमा नाका खुलेका छन् । सामागाउँको रुइला नाका र छेकम्पारको ङुइला नाका छोटो समयका लागि खुला भएका चुमनुब्री गाउँपालिकाका अध्यक्ष नीमा लामाले जानकारी दिनुभयो । छेकम्पारतर्फको ङुइला नाका हिजोदेखि एक महिनाको लागि र सामागाउँतर्फको रुइला नाका आजदेखि १५ दिनका लागि खुला गरिएको जानकारीमा आएको उहाँको भनाइ छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

ङुइला नाकाबाट सबैभन्दा नजिकको तिब्बती गाउँ स्याकसम्ममात्रै जान पाउने गरि नाका खुलेको अध्यक्ष लामाले बताउनुभयो । पाँच वर्ष पहिले नाका बन्द हुनुअघिसम्म चुम उपत्यकाका बासिन्दा किनमेलका लागि तिब्बती बजार झोंगासम्मै पुग्ने गरेका थिए ।

झोंगा अलि ठूलो बजार भएकाले सस्तोमा सामान पाउने गरेकोमा आवतजावत स्याक गाउँसम्म मात्रै सीमित हुँदा दैनिक उपभोग्य सामान केही महंगोमा किन्नुपर्ने बाध्यता हुने अध्यक्ष लामाले बताउनुभयो ।

एक महिनाका लागि नाका खुलेको जानकारी आएपछि चुम उपत्यकाका बासिन्दा किनमेलका लागि सीमा पारि जाने तयारीमा जुटेका चुमनुब्री गाउँपालिका वडा नम्बर–७ का अध्यक्ष टासी दोर्जे लामाले बताउनुभयो । सामान ढुवानीका लागि घोडा मात्रै लिएर जान पाउने गरि नाका खुलेको उहाँको भनाइ छ ।

यस्तै सामा गाउँतर्फको रुइला नाका १५ दिनका लागि खुला गरिएको जानकारी चिनियाँ पक्षबाट आएको सशस्त्र प्रहरी बलको गोरखा गुल्मका डीएसपी केशवराज ओलियाले जानकारी दिनुभयो । तिब्बतका स्थानीय जनप्र्रतिनिधिले सशस्त्र प्रहरी बलको साम्दोगाउँमा रहेको सीमा सुरक्षा बललाई सम्पर्क गरि नाका खुलेको जानकारी गराएका उहाँको भनाइ छ ।

सशस्त्र प्रहरी बलले केही महिनाअघि मात्रै चुमनुब्री गाउँपालिका वडा नम्वर–१ को साम्दोमा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरेको छ ।

नाका खुल्ने भए पछि बिओपीबाट सुरक्षाकर्मीलाई ३५ नम्वर पिल्लर रुइला नाकामा पठाउन लागिएको ओलियाले जानकारी दिनुभयो । तर रुइला नाकाबाट पनि तिब्बती बजारको सीमित क्षेत्रमा मात्रै प्रवेश दिइने चिनियाँ पक्षले बताएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष नीमा लामाले बताउनुभयो ।

कोरोना संक्रमण शुरु हुनुअघिसम्म नुब्री उपत्यका अन्तर्गत पर्ने ल्हो, प्रोक, बिही र सामागाउँका बासिन्दा किनमेलका लागि तिब्बतको कोङदाङ बजारसम्म पुग्ने गरेका थिए । यो पटक भने रुइला नाकाबाट नजिकै रहेको रुई गाउँसम्म मात्रै जान पाउने गरि नाका खुला भएको अध्यक्ष लामाको भनाइ छ ।

छोटो समयका लागि दुवै नाका खुला भएपछि चुमनुब्री गाउँपालिकाका बासिन्दालाई उपभोग्य सामग्री किनमेलका लागि सहज हुने भएको छ । गोरखाकै तल्लो क्षेत्रको बजारबाट सामान किनेर लैजाँदा ढुवानी मूल्यका कारण महंगो पर्ने गरेकोमा अब चिनियाँ बजारबाट तुलनात्मक रुपमा सस्तो र सहज रुपमा सामान ल्याउन पाइने भएपछि स्थानीय बासिन्दा खुशी भएका छन् ।

What’s your Reaction?
+1
33
+1
19
+1
0
+1
0
+1
11
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000